वीरगञ्जमा चलचित्र महोत्सव

0
30

पर्सा । नेपाली चलचित्रको विकास, प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यका साथ तीन दिने चलचित्र महोत्सव हुने भएको छ । ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूल नाराका साथ बिहीबारदेखि वीरगञ्जमा सुरु हुने महोत्सव आकर्षणको विषय बन्दै गएको छ ।

नेपाल चलचित्र निर्माता संघले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको सन्दर्भ पारेर महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए । उनले भने, ‘यो महोत्सवले तराई–मधेसमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने छ ।’

नेपाली भाषी चलचित्रले तराई–मधेसमा आफ्नो वर्चस्व राख्न नसकेको परिवेशलाई मध्येनजर गर्दै महोत्सव गरिएको आयोजकले जनाएको छ । नेपालीभाषी चलचित्र तराई मधेसका दर्शकसम्म पहुँच पु¥याउन र चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताए ।

उपत्यकाबाहिर पहिलोपटक हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । उनले महोत्सवमा भारतीय लोकप्रिय कलाकार गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

महोत्सवमा नेपाली चलचित्रका पुराना अभिनेता नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाह लगायतका कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवलाई भव्य बनाउन नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताए । स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ । एक करोड २० लाख खर्च हुने अनुमान गरिएको सो महोत्सवका लागि प्रदेश २ को सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख र प्रादेशिक पर्यटन प्रवद्र्धन समितिले समेत केही रकम उपलब्ध गराएको छ ।

एक उत्तर छोड्न