शल्यक्रिया गर्दा बिरामीलाई बेहोस किन बनाइन्छ ?

0
99

काठमाडौँ । स्वास्थ्यमा देखिएको गम्भीर समस्याको समाधानको प्रमुख उपाय भनेको शल्यक्रिया । सानो होस् या ठूलो, स्वास्थ्यमा देखिएको धेरै समस्या समाधानको पाटो हो शल्यक्रिया ।

शल्यक्रिया गर्दा बिरामीलाई प्रायः बेहोस बनाइन्छ । शल्यक्रिया गर्दा बिरामीलाई बेहोस गराउने प्रक्रिया निकै महत्त्वपूर्ण प्रक्रिया हो । कुनै पनि शल्यक्रियामा शरीर बेहोस गराउँदा बिरामीलाई दुखाइ कम मात्र हुँदैन यसबाट हाम्रो महत्त्वपूर्ण अङ्गहरु पनि जोगाउन सकिन्छ । शल्यक्रियाको समयमा बिरामी एकदमै डराउने र आत्तिने पनि हुन्छन् । त्यही भएर पनि बिरामीलाई बेहोस बनाउने गरिन्छ । मेडिकल भाषामा यसलाई एनेस्थेसिया प्रक्रिया भनिन्छ ।

शल्यक्रिया गर्दा किन बेहोस गराउने, यसले बिरामी र शल्यक्रियामा कस्तो असर गर्छ, शल्यक्रियाको समयमा बिरामी र स्वास्थ्यकर्मीको टिमले ध्यान पु¥याउनु पर्ने कुरा लगायतको विषयमा आज सिभिल अस्पतालका एनेस्थेसिया विभाग प्रमुख एनेस्थेसियोलोजिस्ट डा. अनुज रायमाझीले जानकारी गराएका छन् ।

एनेस्थेसिया भनेको के हो ?

एनेस्थेसिया भनेको बेहोस गराउने हो भन्ने आम नागरिकको बुझाइ छ । तर एनेस्थेसिया भनेको शल्यक्रिया गर्दा नदुख्ने बनाउनु हो । वास्तवमा शल्यक्रिया गर्दा नदुख्ने बनाउने, बिरामीलाई थाहा नहुने बनाउने, बिरामीलाई अचेत या चल्न नसक्ने बनाउने, शरीरलाई असामान्य प्रतिक्रिया जनाउन नसक्ने बनाउने, शल्यक्रियापछि होसमा आउँदा शल्यक्रिया गर्दाका बखत भएका क्रियाकलाप थाहा नहुने बनाउने प्रक्रिया एनेस्थेसिया हो ।

शल्यक्रिया हुँदा बिरामी आत्तिने डराउने हुँदा एनेस्थेसियाले अझ सहज बनाउँछ । मुटुको समस्या भएको बिरामीको शल्यक्रियाको क्रममा कसरी मुटुको सन्तुलन मिलाउनका लागि पनि एनेस्थेसिया आवश्यक हुन्छ । 

शल्यक्रियाको समयमा डराउने मुटुको नियन्त्रण गर्ने जिम्मा एनेस्थेसियोलोजिस्टले लिएको हुन्छ । उदाहरणको लागि, एक जना व्यक्ति आटिलो छ । उसको हात काटेको छ । केही पनि हुन्न भनिरहेको छ । तर, जतिसुकै आटिलो भए पनि दुख्छ । दुखेपछि मुटुको पेसर बढ्छ । रगत धेरै बग्छ, श्वासप्रश्वास बढ्ने ,मिर्गाैलाले काम नगर्ने जस्ता समस्याहरु देखा पर्ने सक्छन् । त्यसैले रोगको प्रकार हेरेर बिरामीलाई बेहोस बनाउन आवश्यक हुन्छ । 

एनेस्थेसिया कति प्रकारको हुन्छ ?

एनेस्थेसियाको ३ तरिका हुन्छ । शरीरलाई पूरै बेहोस बनाउने, यो बिधि विशेषत्र विशेषगरी अंग प्रत्यारोपण, टाउकोको शल्यक्रिया, पेटको गहिरो शल्यक्रिया जस्ता गम्भीर प्रकृतिका शल्यक्रियामा शरीरलाई पूरै बेहोस बनाउने गरिन्छ ।

यस्तै आधा शरीरलाई आधा बेहोस पनि बनाइन्छ । विशेष गरेर शरीरको कम्मरभन्दा मुनिको भागलाई बेहोस बनाउन यस्तो प्रक्रिया अपनाईन्छ । ढाडमा इन्जेक्सन दिएर गरिने यो प्रविधि विशेषगरी शल्यक्रियाबाट प्रसूति गराउने अवस्थामा बढी प्रयोग गरिन्छ भने विभिन्न ठाउँमा भएका स्टोन निकाल्न पनि यही प्रविधि प्रयोग हुँदै आएको छ ।

अर्काे शल्यक्रिया गर्ने अंगको निश्चित क्षेत्रमा बेहोसी गरिने प्रक्रियालाई रिजनल एनेस्थेसिया अर्थात क्षेत्रीय बेहोसी भनिन्छ ।  हातखुट्टा भाच्चिए पछि गरिने शल्यक्रियामा निश्चित भागलाई लठ्याउने र मानिसलाई निदाउने औषधि खुवाएर पनि शल्यक्रिया गरिन्छ । यो प्रक्रिया शल्यक्रिया नसकिउन्जेल आवश्यकताअनुसार मात्रा मिलाएर दिइरहेको हुन्छ । शल्यक्रिया पूरा भएसँगै औषधि दिन पनि बन्द गरिन्छ । 

शरीरलाई नदुख्ने (बेहोस) बनाउँदा कुन —कुन अङ्गले काम गरेको हुँर्दैन ?

हात, खुट्टा भाच्चेका धेरै जसो केशमा भने शल्यक्रिया गर्नुपर्ने अङगमा मात्रै नदुख्ने बनाउँछौँ । तर सम्बन्धित अङ्गलाई मात्रै लठ्याउँदा बिरामी होसमा हुन्छ र डराउँछन् । यस्तो अवस्थामा भने बिरामीलाई निन्द्र्रा लगाउने औषधि प्रयोग गरेर र शल्यक्रिया सुरु गरिन्छ ।

बेहोस गर्दा बिरामीको शरीरको कन्ट्रोल चिकित्सकको हातमा हुन्छ भने निदाउने बनाउँदा अथवा सुताउँदा शरीरको कन्ट्रोल बिरामीसँग नै हुन्छ ।

शल्यक्रियाको क्रममा बिरामीलाई एनेस्थेसिया दिँदा फोक्सोले सामान्यभन्दा कम काम गर्छ । पुरै बेहोस बनाउँदा मुटु आफ्नै सन्तुलनमा हुन्छ । मिर्गाैला आफ्नै सुरमा चलिरहेको हुन्छ । चलाईमा कम र बढी भयो भने एनेस्थेसियोलोजिस्टले सहयोग गर्छ । फोक्सो चाहिँ पूर्ण रुपमानै बन्द जस्तै अवस्थामा हुन्छ ।

ती सबै प्रक्रियालाई पुनः पहिलेकै अवस्थामा ल्याउनु चुनौतीपूर्ण हुन्छ ।  यसमा औषधिको सन्तुलन महत्तवपूर्ण हुन्छ । राम्रो सन्तुलन मिलाएर मात्र ती सबैलाई फेरि पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिन्छ । यी सबै काम एक एनेस्थेसियाको चिकित्सकले मात्र गर्न सक्छ । 

एनेस्थेसिया गर्नुपूर्व चिकित्सकले बिरामीको मुटु, फोक्सो, मिर्गौला, मस्तिष्कको अवस्थाको राम्ररी अध्ययन गर्नुपर्छ । त्यसका साथै त्यसअघि प्रयोग गरेको औषधि र त्यसको असरको पनि अध्ययन गर्नुपर्छ ।    

शल्यक्रियाको समयमा बिरामीमा उत्पन्न हुने डर

सानो होस् या ठूलो, शल्यक्रिया भनेपछि नडराउने बिरामीको सङ्ख्या कमै होलान् । शल्यक्रियासँग डराउनु सामान्य हो । डर कम गर्नको लागि कुनै पनि शल्यक्रिया गर्नु एक हप्ता पहिला पिएसी जाँच गरिन्छ । त्यो जाँचमा शल्यक्रियाको प्रक्रियाको साथै बिरामीको मनोबललाई बलियो बनाउन परामर्श पनि गरिन्छ । पिएसी जाँचमा बिरामीलाई नआत्तिने, डर नलाग्ने औषधि दिइएको हुन्छ । त्यो औषधि भोलि बिहानको शल्यक्रिया छ भने अघिल्लो दिनको बेलुका र शल्यक्रिया गर्ने दिनको बिहान दिइन्छ । यस्तै बेलुका शल्यक्रिया छ भने सोही दिनको बिहान अथवा चिकित्सकको सल्लाह अनुसार खादा राम्रो हुन्छ । त्यो औषधि खाएर शल्यक्रियामा आउने बिरामी शल्यक्रिया गर्ने कोठमा छिर्दा आत्तिदैनन् ।  

एनेस्थेसियाको क्रममा बिरामीले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

शल्यक्रियाको क्रममा ३ वटा टोली हुन्छ । सर्जन, नर्सिङ स्टाफ र एनेस्थेसिया चिकित्सक । तीन वटा टोलीको आफ्नै दायित्व हुन्छ । त्यसमा अनुभवी र विज्ञ स्वास्थ्यकर्मी भएन भने समस्या आउन सक्छ । तीन टोलीबीच सहकार्य राम्रो नभएको खण्डमा समस्या आउन सक्छ । त्यसैले शल्यक्रियाको समयमा यो एकदमै महत्त्वपूर्ण कुरा हो ।

बिरामीले एनेस्थेसियाको क्रममा कसको दायित्व के हो र कसलाई के प्रश्न गर्ने भन्ने विषयमा जानकारी राख्न आवश्यक हुन्छ ।

शल्यक्रियाको क्रममा बिरामीले आफूलाई पहिला देखाएको चिकित्सकले यो भनेको थियो, त्यो भनेको थियो, किन यस्तो भयो भन्ने प्रश्नहरु गर्छन् । जसले गर्दा स्वास्थ्यकर्मी पनि अलमलिन सक्छन् । त्यसैले सम्बन्धित व्यक्तिलाई सम्बन्धित र जायज प्रश्न राखियो भने शल्यक्रियामा सहजता हुन्छ ।

एक उत्तर छोड्न