शृंखलामा भारतको अग्रता

0
71
India's captain Virat Kohli, center, congratulates his teammates after India defeated Australia on day five of the third cricket test between India and Australia in Melbourne, Australia, Sunday, Dec. 30, 2018. (AP Photo/Asanka Brendon Ratnayake)

शृंखलामा भारतको अग्रता

मेलबर्न – पाहुना टोली भारतले आइतबार अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा १ सय ३७ रनको जित निकाल्दै शृंखलामा २–१ को अग्रता लिएको छ। शृंखलामा अग्रतासँगै ऐतिहासिक सफलता प्राप्त गर्न भारतले जनवरी ३ को अन्तिम तथा चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध उच्च आत्मबलका साथ खेल्नेछ। ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ५८ रनमा ८ गुमाएको स्थितिबाट आइतबार पाँचौं  दिनको सुरुआत गरेको थियो।

केही समय वर्षाले प्रभावित भएको खेलमा भारतले छिट्टै थप दुई विकेट निकाल्दै जित हात पारेको थियो। त्यस क्रममा अस्ट्रेलियाले अन्तिम दिन तीन रन मात्र थप्न सफल भएपछि १ सय ३७ रनको फराकिलो हार बेहोर्‍यो। शनिबार नै अस्ट्रेलियाको ध्वस्त भएको इनिङ समालेका प्याट कमिन्स ६३ रनमा आउट भए।

करियरको दोस्रो अर्धशतक प्रहार गरेका कमिन्सलाई भारतीय बलर जसप्रीत बुमराहले चेतेश्वर पुजाराद्वारा क्याचआउट गराए। प्लेयर अफ दी म्याच घोषित बुमराहले तेस्रो टेस्टमा कुल ९ विकेट लिएका थिए। अस्ट्रेलियाको अन्तिम विकेटका रूपमा नाथन लियोनलाई ७ रनमा ईशान्त शर्माले पवेलियनको बाटो देखाएका थिए। दोस्रो इनिङमा दुई विकेट निकालेका ईशान्तले कुल ३ विकेट लिएका थिए। दोस्रो इनिङमा तीन विकेट लिएका रवीन्द्र जडेजाले पहिलो इनिङमा पनि २ विकेट निकाले। तीव्र गतिका बलर मोहम्मद सामीले तेस्रो टेस्टमा कुल तीन विकेट निकाल्दै भारतीय बलिङ साइडलाई बलियो बनाएका थिए। टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारत यो शृंंखला जित्दै अस्ट्रलियाविरुद्धको महत्वपूर्ण सफलता प्राप्त गर्न चाहन्छ।

भारतका कप्तान विराट कोहलीले अस्ट्रेलिया आएदेखि ठूलो सफलता दिलाउन खेल्न बताएका थिए। ‘हामीसँग निकै राम्रो टिम भएकाले सफलता प्राप्त गर्ने सम्भावना थियो। जितका लागि पछिल्ला १२ महिनादेखि मानसिक तयारी गरिसकेका थियौं,’ भारतीय क्रिकेटका कप्तान कोहलीले भने, ‘हामीले यो शृंखला जित्यौं भने त्यसको जस टिमका सबै सदस्यलाई जानेछ।’

तीव्र गतिका बलर कमिन्सले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियन टिममा अलराउन्डरको रूपमा आफ्नो सम्भावना बढाएका छन्। यस टेस्टको पहिलो इनिङमा १७ र दोस्रो इनिङमा ६३ रन बनाएका कमिन्सले कुल ९ विकेट लिएका छन्। पूर्वकप्तान स्टेभन स्मिथ र डेविड वार्नरमाथि प्रतिबन्ध लागेपछि अस्ट्रेलियाको ब्याटिङ निकै कमजोर बनिरहेको छ।

बल टेम्परिङको आरोपमा गत मार्चमा एक वर्षका लागि प्रतिबन्धमा परेका दुवै ब्याट्सम्यान नहुँदा अस्ट्रेलियाको ओपनिङ निकै खराब हुँदै आएको छ। अस्ट्रेलियाका कप्तान टिम पाइनेले पहिलो इनिङमा भारतले उत्कृष्ट ब्याटिङ गर्दा त्यसलाई फर्काउनु नसक्नु नै खेलमा दबाबको माध्यम बनेको बताए। ‘यद्यपि, आगामी खेलमा कमजोर पक्षलाई हटाउँदा टिममा सुधार गर्नेछौं,’ अस्ट्रेलियाका कप्तान पाइनेले भने।

यता, पहिलो इनिङमा भारतले तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वरको १ सय ६ रनको शतक, विराटको ८२ रन र डेब्यु खेलाडी मयंक अग्रवालको ७६ रनको मद्दतमा ४ सय ४३ रन बनाउँदै जितको आधार तयार पारेको थियो। यता, भारतको बलिङसामु दुवै इनिङमा अस्ट्रेलियाका ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न नसकेपछि घरेलु टोलीले हार बेहोरेको हो। पूर्वकप्तान स्टेभन स्मिथ र डेविड वार्नरमाथि प्रतिबन्ध लागेपछि अस्ट्रेलियाको ब्याटिङ निकै कमजोर बनिरहेको छ।

एक उत्तर छोड्न