सन्दीपले विकेट लिए

0
131

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल)मा आफ्नो लगातार दुई खेलको विकेटविहीन यात्रा समाप्त गरेका छन् । सिल्हेट सिक्सेसमा आबद्ध सन्दीप लगातार दुई खेलमा विकेटविहीन थिए, जसका कारण उनले चौथो खेल गुमाए । तर, सिल्हेटको पाँचौँ खेलमा उनले विकेट लिन सफल भए । उनले रंगपुर राइडर्सका बेनी होवेललाई बोल्ड गरे ।

१७औँ ओभरमा विकेट
सन्दीपले इनिङको १७औँ ओभर बलिङ गर्ने अवसर पाए । पहिलो तीन ओभरमा कसिलो बलिङ गरेका कारण नै सन्दीपलाई कप्तान डेभिड वार्नरले अवसर प्रदान गरे । सन्दीप १६.५ ओभरमा होवेललाई क्लिन बोल्ड गर्न सफल भए । होवेलले ११ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए । सन्दीपले समग्रमा प्रतियोगितामा ३ विकेट लिएका छन् ।

उत्कृष्ट बलिङ
सन्दीपले रंगपुरविरुद्ध विकेट मात्र लिएनन्, सिल्हेटका लागि कसिलो बलिङ प्रदर्शन गर्न सफल भए । सन्दीपले ४ ओभरमा १८ रन खर्चेर १ विकेट हात पारेका हुन् । सन्दीपको बलमा रंगपुरका कुनै पनि ब्याट्सम्यानले बाउन्ड्री लगाउन सकेनन् । यसैगरी सन्दीपले १ रन पनि अतिरिक्त दिएनन् । उनले चार ओभरमा नौ डटबल फ्याँके ।

सुरुका तीन ओभरमा १५ रन
सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमै प्रभावशाली बलिङ देखाए । उनले पहिलो ओभरमा केवल ६ रन मात्र दिए । यसैगरी दोस्रो ओभरमा उनले ५ रन दिए । तेस्रो ओभरमा उनीविरुद्ध रंगपुरका ब्याट्सम्यानले केवल ४ रन मात्र लिन सफल रहे ।

सिल्हेट २६ रनले विजयी
लिगमा सिल्हेटले दोस्रो जित निकाल्नेक्रममा रंगपुरलाई २७ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको सिल्हेटले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । प्रत्युत्तरमा रंगपुरले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६० रन जोड्यो । सिल्हेटका लागि मेहदी हसन राना र तक्सिन अहमेदले समान २ विकेट लिए । सिल्हेटका लागि कप्तान वार्नरले ३६ बलमा ६१ रन जोडेका थिए ।

एक उत्तर छोड्न