समयमै काम नगर्दा अनमोलले छाड्नुपर्‍यो दुई चलचित्र

0
108

समयमै काम नगर्दा अनमोलले छाड्नुपर्‍यो दुई चलचित्र

काठमाडौं । एक वर्षमा चारवटा फिल्म खेल्ने लक्ष्यसहित चारै फिल्ममा नायकको सम्झौता गरेर अभिनेता अनमोल केसीले समय दिन नसकेका कारण दुई फिल्म छाड्नु परेको छ । एउटा फिल्ममा ५० लाखसम्म लिन थालेका उनले दुईवटा फिल्म छाड्नुपर्दा करिब १ करोड गुमाएका छन् ।

उनले २०७५ सालका लागि आफ्नै पिता भुवन केसीको ‘क्याप्टेन’ झरना थापाको ‘ए मेरो हजुर–३’ मिलन चाम्सको ‘ब्याचर बन्टी’ र रत्नाकर कुमारको एउटा हिन्दी फिल्ममा नायकका रूपमा सम्झौता गरेका थिए । जसमध्ये अनमोलले क्याप्टेन र ए मेरो हजुरबाहेक बाँकी दुई फिल्मको सुटिङका लागि समय दिन सकेनन् ।

निर्माता सुदीप खड्का र निर्देशक मिलन चाम्सको फिल्म ‘ब्याचर बन्टी’मा अब अनमोल केसी नरहने भएका छन् । अनमोल केसीले समय दिन नसकेको भन्दै निर्देशक मिलन चाम्सले नै यो फिल्म गर्न नचाहेपछि ब्याचर बन्टीका लागि लिइएको पेस्की स्वरूपको १० लाख रुपैयाँ अनमोलका पिता एवं अभिनेता भुवन केसीले बुधबार साँझ निर्माता सुदीप खड्कालाई फिर्ता गरेका छन् ।

आफ्नो फिल्म ए मेरो हजुर–३ को छायांकनका लागि विदेश उड्नुअघि मंगलबार अनमोलले ब्याचरल बन्टी छाड्नुको कारणबारे भने, ‘फिल्मको स्क्रिप्ट पढेपछि म त्यो स्क्रिप्टमा उपयुक्त हुन्छु जस्तो लागेन । सोही कारण मैले सो फिल्म छाडेको हुँ ।’

तर, अनमोलको यो भनाइप्रति ब्याचलर बन्टीका निर्देशक मिलन चाम्स सहमत छैनन् । यसबारे उनले भने, ‘यो फिल्मका लेखक प्रदीप भारद्धारले स्क्रिप्ट सुनाएपछि मलाई स्क्रिप्ट र मेरो रोल साह्रै मन प¥यो भन्दै अनमोलले ब्याचलर बन्टीका लागि हामीसँग सम्झौता गरेका हुन् । पछिल्लो कुराकानीअनुसार यही वैशाखबाट फिल्म सुटिङ सुरु गर्ने तयारी हुँदाहुँदै पनि अनमोलले मलाई भेट्छु भनेर घन्टौं कफीसपमा गत साता कुराएर उनी नआएपछि मलाई अनमोलसँग फिल्म ब्याचलर बन्टी गर्न मन नलागेको हो ।’

स्क्रिप्ट सुनेरै फिल्म गर्न तयार भएका अनमोलले अहिले स्क्रिप्ट मन परेन भन्नु सान्दर्भिक नभएको र यो फिल्ममा अनमोलले काम नगरून् भनेर केही सिनेकर्मीले नकारात्मक भूमिका खेलिरहेको पनि निर्देशन मिलनले बताए । अनमोल र आफूबीच सम्बन्ध राम्रो भएको र भविष्यमा अरू फिल्म आफूहरू काम गर्न सक्ने पनि निर्देशक चाम्सले बताए ।

४५ लाखमा अनुबन्धित भएका अनमोलले सिनेमामा समय दिन नसकेपछि अन्ततः फिल्म ब्याचलर बन्टी तत्काल नबन्ने भएको छ । अब आफूले वीर विक्रम–२ र बोबी–२ को काम सकेर यी दुवै फिल्म रिलिज गरेपछि बल्ल ब्याचरल बन्टीको कामतर्फ लाग्ने सक्ने मिलनले बताए । मिलनका अनुसार ब्याचलर बन्टीको नायक बन्टीको भूमिकाका लागि अनमोल ६ महिनाअघि अनुबन्धित भएका थिए । गत असोजबाट छायांकन सुरु गरेर आगामी १७ फागुनमा रिलिज गर्ने सम्झौतासहित ब्याचलर बन्टीमा अनमोल सो फिल्ममा जोडिएका थिए ।

यसै बिषयमा अनमोलका पिता एवं अभिनेता भुवन केसीले पनि आपसी सहमतिमा ब्याचलर बन्टी छाडेको बताएका छन् । फिल्मको स्क्रिप्टमा आफू फिट नभएको अनमोलले बताएपछि सो फिल्मका लागि लिएको पेस्की आफूले फिर्ता गरेको पनि उनले बताएका छन् ।

ब्याचर बन्टी मात्र हैन, फागुनबाट छायांकन सुरु हुने भनिएको अनमोलको हिन्दी फिल्मलाई अनमोलले समय दिन सकेका छैनन् । दर्जन भोजपुरी फिल्म निर्माण गरिसकेका बलिउड निर्माता रत्नाकर कुमारले अनमोल केसीलाई हिन्दी फिल्ममा अनुबन्धित गरेका थिए । जौकी श्राफलगायत विभिन्न भारतीय कलाकारसहित आधाजसो नेपाली कलाकार रहने सो फिल्म हिन्दी भाषामै निर्माण हुँदै थियो ।

सो फिल्मका निर्देशन भुवन केसीले गर्ने तयारी हुँदै थियो । फिल्मका लागि रत्नाकरले १२ लाख रुपैयाँ पेस्की पनि अनमोललाई दिइसकेका थिए । सो फिल्मका लेखक यतिबेला काठमाडौं बसेर फिल्मको स्क्रिप्ट फाइनल गर्दै छन् ।

अनमोल केसीले सो फिल्मको छायांकनका लागि फागुनमा समय दिन नसक्ने भएपछि निर्माण पक्षले अन्य कलाकार लिएर सो फिल्म निर्माण गर्दै छन् । अनमोल केसी सो फिल्ममा नरहने भएपछि भुवन केसी पनि निर्देशकका रूपमा नरहने र अन्य निर्देशक लिने पक्का छ ।

निर्माण पक्षका अनुसार सो फिल्ममा ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली कलाकार हुनेछन् । उनीहरूले यो फिल्मका लागि बलिउडका कलाकारसँग कुरा गर्दै छन् । निर्माण पक्षले आफ्नो फिल्ममा अनमोल र भुवन केसी नरहने भन्ने विषयमा आधिकारिक घोषणा गरेको त छैन । तर, चाँडै बोल्ने पक्षमा उनीहरू छन् ।

एक उत्तर छोड्न