सात महिना पछि क्रिस गेलको वानडे टिममा पुनरागमन

0
40

वेस्टइण्डिजका विस्फोटक ब्याट्समेन क्रिस गेल लामो समयपछि राष्ट्रिय टिममा परेका छन्।

इंगल्याण्डविरूद्ध हुने एक दिवसीय खेलका लागि गेल टोलीमा परेका हुन्। गेललाई इंगल्याण्डविरूद्ध हुने पहिलो दुई एक दिवसीयका लागि टोलीमा राखिएको हो।

अहिले घरेलु टोली उत्कृष्ट प्रदर्शन गर्दै इंगल्याण्डविरूद्धको ३ खेलको टेस्ट सिरिज २-० ले अगाडि छ।

बीबीसीका अनुसार, वेस्टइण्डिजका लागि वानडे क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी गेलले पछिल्लो वर्ष अक्टुबरमा भारत र बंगलादेश भ्रमण जान मानेका थिएनन्।

३९ वर्षिय गेलले देशका लागि अन्तिम वानडे म्याच पछिल्लो वर्षको जुलाईमा बंगलादेशविरूद्ध खेलेका थिए। उनले वानडे क्रिकेटमा आफ्नो देशका लागि सबैभन्दा बढी सतक (२३) बनाएका छन्। यस्तै २८४ खेलबाट २७९ इनिङ्स खेल्दै उनले वानडेमा ८५.८२ स्ट्राइक रेटमा २३ सतक र ४९ अर्धसतकसहित ९७२७ रन बनाइसकेका छन्।

गेलसँगै विकेटकीपर निकोलस पुरन पनि टिममा परेका छन्। वानडे सिरीजको सुरूवात आगामी २० फेब्रुअरीदेखि हुनेछ।

छनोटकर्ताका अध्यक्ष कोर्टनी ब्राउनले दुई खेलाडीको पुनरागमनबाट टोली बलियो हुने दाबी गरेका छन्। ‘क्रिस गेलको पुनरागमनले हामीलाई खुसी बनाएको छ। यस्तै युवा खेलाडी निकोलस पुरनलाई पनि वान डे मा पहिलो पटक मौका दिएका छौ। उनी एक युवा तथा उत्कृष्ट क्षमता भएका खेलाडी हुन्। मलाई विश्वास छ उनले टोलीको मिडल अर्डन धान्नेछन्,’ अध्यक्ष ब्राउनले भने।

उनले वान डे वरियताको शीर्ष स्थानमा रहेको टोलीबिरूद्ध खेल्दै आफ्नो टिमको स्तर थाहा हुने पनि बताए।

‘हामी विश्वकपको तयारीमा छौ। हाम्रा लागि एउटा राम्रो मौका समेत आएको छ। आगामी सिरीजमा वानडे क्रिकेटको शीर्ष टीम विरूद्ध खेल्दै छौं। यसबाट आफ्नो टिमको अवस्था जान्न पाउनेछौ,’ उनले भने।

अनुभवी ब्याट्समेन मार्लन स्यामुएल्स चोटका कारण टीममा परेका छैनन्।

टोली

जासन होल्डर (कप्तान), फाबियन एलेन, देवेन्द्र बिशू, डारेन ब्रावो, क्रिस गेल, शिमरोन हेटमेयर, शाई होप, ईभिन लेविस, एशले नर्स, कीमो पौल, निकोलास पुरन, रोवम्यान पोवेल, केमार रोच, ओशाने थोमस।

खेल तालिका

  • फेब्रुअरी – २० पहिलो ओडिआई – केन्सिङ्टन ओभल
  • फेब्रुअरी – २२ दोस्रो ओडिआई – केन्सिङ्टन ओभल
  • फेब्रुअरी – २५ तेस्रो ओडिआई – ग्रेन्डा नेशनल स्टेडियम
  • फेब्रुअरी – २७ चौथो ओडिआई – ग्रेन्डा नेशनल स्टेडियम
  • मार्च – २ पाँचौ ओडिआई – डारेन साम्मी क्रिकेट ग्राउन्ड

एक उत्तर छोड्न