सिमसार नगर बन्दै बेलबारी

0
159

विराटनगर, मङ्सिर २ गते । मोरङको बेलवारीलाई सिमसार नगरका रूपमा विकास गरिने भएको छ । नगर क्षेत्रमा साना ठूला गरी २१ सिमसार रहेकोले ती सबै सिमसारको संरक्षण गरी पर्यावरण जोगाउँदै पर्यटकीय स्थलका रूपमा सबैको प्रवद्र्धन गर्न विज्ञले सुझाव दिएका छन् ।
बेलवारी नगरपालिकाले पर्यटन प्रवद्र्धनको सम्भावना खोजी गर्न गठन गरेको विज्ञ समूहले सबै २१ सिमसार क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर नगरपालिकालाई बुझाइसकेको छ ।
मोरङको बेलवारीमा रहेको बेतना सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्दा अहिले प्रदेश १ कै एउटा आकर्षक पर्यटकीय स्थलका रूपमा विकास भएपछि नगरपालिकाले थप सिमसार क्षेत्रको संरक्षणमा अघि बढ्ने सङ्केत गरेको हो ।
अघिल्लो वर्ष बेतना सिमसार क्षेत्रले पर्यटक प्रवेश शुल्कमात्र एक करोड रुपियाँभन्दा बढी सङ्कलन गरेको थियो । त्यसबाट नगरपालिका उत्साहित बनेको छ भने पर्यावरण र जैविक विविधताको संरक्षण गरेर पनि नगरपालिकाले नमुनाको काम गर्न सक्ने र त्यसलाई प्रवद्र्धन गरी थप पर्यटक आकर्षित गर्न सक्ने सुझाव विज्ञ टोलीले दिएको छ । बेलवारी नगरपालिका क्षेत्रभित्र बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझलीबाँध, हाँडीदह, भुलभुले महाराजथान, जाल्पादेवी भवन, कुइरीखोला, मखनपोखरी, गयल पोखरी लगायतका सिमसार छन् । तीमध्ये बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र सबैभन्दा ठूलो प्राकृतिक सिमसार हो ।पर्यटनको सम्भावना रहेको भन्दै प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. सोमप्रसाद खतिवडा, डा. भविन्द्र निरौला, डा. अर्जुन बराल, रामचन्द्र अधिकारी, अर्जुन थापा लगायतको विज्ञको टोलीले स्थलगत अध्ययन गरेर बेलबारीमा २१ वटा पहिचान गरेको र त्यसको संरक्षण र प्रवद्र्धनको योजना तयार पारेको हो ।
बेलवारी नगरपालिकाले तयार पारेको विकास गुरुयोजनामा बेतना सिमसारको रणनीतिक विकास र विस्तारसँगै अन्य सिमसार क्षेत्रको क्रमशः विकास गर्दै जाने उल्लेख छ । सिमसार वनभोजका लागि बढी प्रचलित छन् भने जैविक विविधता अध्ययन गर्ने विद्यार्थी आदिको अध्ययनस्थल तथा युवा र परिवारका सदस्यले रमाइलो गर्ने रमणीय स्थलका रूपमा विकसित हुँदैगएको छ । झापाको जामुनखाडी कृत्रिम सिमसार तथा मोरङको उर्लाबारीमा रहेको बेतीनी सिमसार र लेटाङको राजारानी पोखरी विगतदेखि नै प्रसिद्ध पर्यटकीय सिमसार हुन् ।
नगरपालिकाले पर्यटकीय क्षेत्र बेलवारीलाई सिमसारको नगर क्षेत्रका रूपमा विकास गरी पानीका स्रोत पहिचान गरेर खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । कुल १७४.९१ हेक्टरमा फैलिएको सिमसारको पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मानव प्रयोग क्षेत्र, राजमार्गभन्दा उत्तर ६२ हेक्टरमा चिडियाखाना, कछुवा र गोहीको प्रजनन् केन्द्रका साथै चरा संरक्षण क्षेत्र र त्यसभन्दा माथि ९८ हेक्टर जङ्गल क्षेत्रलाई जङ्गली जनावरको सुरक्षित बासस्थानका रूपमा निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

एक उत्तर छोड्न