सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरू

0
119

सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरूमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ ।

पाखो, भिरालो जमिन तथा बारीहरूमा अन्य रुख र बुट्यानहरूलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनहरूलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसानहरू आकर्षित हुँदै गएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइअन्तर्गत सुन्तला सुपरजोनका रूपमा घोषणा भएपछि यसको व्यावसायिकता थपिएको हो ।

आर्थिक वर्ष ०७३-७४ मा स्याङ्जा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो । आर्थिक वर्ष ०७५-७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको परियोजना एकाइ कार्यालय स्याङ्जाका कृषि अधिकृत महाप्रसाद पौडेलले बताउनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु १० लाख आम्दानी गर्नुभयो । कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको बगैँचामा हाल ८ सय वटा सुन्तलाका बोट छन् भने फल दिने ६ सयवटा छन्

कृषि अधिकृत पौडेलका अनुसार स्याङ्जाका विभिन्न पालिकाका १७ वटा वडामा कुल एक हजार एक सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा निर्माण गरिएको छ ।

जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नं १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नं ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंं. १ र २ गरी कुल १७ वटा वडामा एक सय ५५ वटा समूह, सहकारी र उद्यमीहरूसहित कुल तीन हजार एक सय ६९ कृषक यो व्यवसायमा आबद्ध रहेका छन् ।

सुन्तला सुपरजोन घोषणा भएसँगै यहाँ स्थलगत तालिमहरू, भकारो सुधार, माटो परीक्षण, बगैँचा व्यवस्थापनसहित हाइटेक सुन्तला नर्सरी स्थापना, ‘कस्टम हायरिङ सेन्टर’ (औजार उपकरण तथा मेसिनरी सामान वितरण), ‘पोस्ट हार्भेस्ट सेन्टर’ (संकलन केन्द्र निर्माण, जुस फ्याक्ट्रीहरू स्थापना, बजारीकरणमा सहयोग, सुन्तलाको ग्रेडिङ) गर्ने कार्यहरू भइरहेका छन् ।

यस वर्ष स्याङ्जामा ६७ करोड रूपैयाँको सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार १८ हजार ६ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भई जिल्लामा ६७ करोड ३२ हजार भित्रिएको हो ।

सुवेदीका अनुसार यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये तीन हजार ७ सय २२ मेट्रिक टन जिल्लाभित्रै खपत भयो भने १४ हजार ८ सय ७९ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात भयो ।

आर्थिक वर्ष ०७४-७५ मा स्याङ्जामा एक हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ जिल्लामा भित्रिएको थियो । गत आर्थिक वर्ष दुई हजार ९ सय २५ मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको थियो भने ११ हजार ७ सय ३ मेट्रिक टन सुन्तला जिल्ला बाहिर निकासी भएको थियो ।

स्याङ्जामा गत आवको तुलनामा चालु आवमा तीन हजार ९ सय ३ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको र सोको बिक्रीबाट रु २० करोड १९ लाख ३ हजार बढी आम्दानी भएको छ । गत आवसँग तुलना गर्दा स्याङ्जामा चालु आवमा २७ दशमलव २३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बागवानी विकास अधिकृत सुवेदीले बताउनुभयो ।

यस वर्ष एक हजार २ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचाबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दरले उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, विरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडौंलगायतका स्थानमा पुग्ने गर्छ । स्वादिलो र अत्यधिक उत्पादनको पहिचान बनाउँदै गरेको स्याङ्जामा सुन्तला खेतीलाई नै प्रमुख बालीका रूपमा अंगालेर व्यावसायिकता प्रदान गर्ने सुन्तला व्यवसायीहरू यो व्यवसायबाट पूर्ण सन्तुष्ट रहेको बताउँछन् ।

सुन्तला व्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना र धेरै परिणाममा सुन्तला उत्पादन गर्ने केही प्रतिनिधि सुन्तला व्यवसायीहरूमध्येका एक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका फणिनारायण अर्याल हुनुहुन्छ ।

अर्याल आजभन्दा ४० वर्षअघि ०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेको स्मरण गर्नुहुन्छ । कृषि विषय अध्ययन गर्दा व्यावहारिकतालाई पनि जोड दिने गरिन्छ । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि ०४२ र ०५० सालमा उहाँले थप सुन्तलाका बोट लगाउनुभएको थियो ।

अर्यालको सुन्तला बगँैचा हाल ८० रोपनी क्षेत्रफलमा फैलिएको छ । एक हजार ६ सय सुन्तलाका बोट उहाँको बगैँचा छन् जसमध्ये हाल एक हजार १ सय बोटले फल दिन्छन् ।

‘मेरो मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो,’ सुन्तला व्यवसायी अर्यालले भन्नुभयो, ‘आठजनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु । यो व्यवसायबाट म पूर्णरूपमा सन्तुष्ट छु ।’

अर्यालले यस वर्ष सुन्तला बिक्रीबाट रु ३६ लाख आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष १८ लाख र दुई वर्षअघि २८ लाख आर्थिक लाभ गर्नुभएको थियो । यस वर्ष सुन्तलाका लागि अनुकूल मौसम भएकाले पनि अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन र आर्थिक लाभ भएको अर्यालको भनाइ छ ।

त्यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौँसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गर्नुभएको छ । भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गर्नुभएको हो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा एक हजार ५ सय सुन्तलाका बोट छन् भने यसपटक झण्डै ९ सयले फल दिएको छ । भण्डारीले सुन्तला बिक्रीबाट गत वर्ष १७ लाख रूपैयाँ आम्दानी गर्नुभएको थियो ।

‘बुवाले ४५ वर्ष अघिदेखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिक रूपमा अगाडि बढायौँ,’ भण्डारीले भन्नुभयो, ‘अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।’

‘बुवा टीकाराम भण्डारीले ०३० सालमा ३५ वटा सुन्तलाका बिरुवा लगाएर थाल्नुभएको व्यवसाय राम्रो हुँदै गयो र हामी तीन भाइ पाँच वर्षपछि मलेसियाबाट फर्केर बुवाले थाल्नुभएको सुन्तला खेतीलाई व्यावसायिक तरिकाले सञ्चालन ग¥यौँ,’ भण्डारीले भन्नुभयो ।

सिरौँसामा भण्डारी परिवारले सुन्तलाबाट आम्दानी लिन थालेसँगै त्यहाँ रहेका सबै ४२ घरमा सुन्तलाका बोट रोपिएका छन् । प्रत्येक परिवारले कम्तीमा ५० हजारदेखि बढीमा १७–२२ लाखसम्म आम्दानी गर्छ । भण्डारीका अनुसार यस गाउँबाट मात्रै बर्सेनि झन्डै एक करोड रूपैयाँको सुन्तला बिक्री हुने गर्छ ।

स्याङ्जाको भीरकोट ७ लेलुंगामा ‘नेपाल कृषि उद्यम फार्म’ मार्फत सुन्तला व्यवसाय गर्दै आउनुभएका मीनप्रसाद कोइरालाको बगैँचामा अहिले एक हजार ६०० सुन्तलाका बोट छन् ।

घरायसी प्रयोजनमा मात्रै उपयोग हुँदै आएको सुन्तलालाई झण्डै ११ वर्षअघिदेखि व्यावसायिक रूपमा अगाडि बढाउँदै कोइरालाले २७ रोपनी क्षेत्रफलमा बगैँचा विस्तार गर्नुभएको छ । यस वर्ष सुन्तला बिक्रीबाट उहाँलाई रु २२ लाख आम्दानी भयो ।

‘मेरो आम्दानीको प्रमुख स्रोत सुन्तला हो भने यही आम्दानीबाट छोराछोरीको शिक्षादीक्षा तथा घरखर्च चलाउने गरेको छु र सुन्तला व्यवसायबाट सन्तुष्ट पनि छु,’ कोइरालाले भन्नुभयो ।

लेलुंगा गाउँमा हाल १२ घरपरिवार रहेको र उक्त गाउँलाई सुन्तला गाउँको रूपमा विकास गर्न अन्य बुट्यान तथा झाडीहरू फाडेर पाखैभरि सुन्तलाको बगैँचा विस्तारमा सामूहिक रूपमा जुटेको कोइरालाले बताउनुभयो । यस वर्ष यो गाउँबाट दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको व्यावसायिक कृषक समूहका सचिवसमेत रहनुभएका कोइरालाले बताउनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु १० लाख आम्दानी गर्नुभयो । कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको बगैँचामा हाल ८ सय वटा सुन्तलाका बोट छन् भने फल दिने ६ सयवटा छन् ।

सुन्तला सुपरजोन सञ्चालन समिति स्याङ्जाका संयोजकसमेत रहनुभएका अर्यालले समूहगत रूपमा मूल्य निर्धारण गरी आलोपालो व्यापारीहरूलाई ल्याएर सुन्तला बिक्रीमा सघाउँदै आउनुभएको छ ।

‘मेरो अरू जागिर छैन, प्रमुख बाली भनेको सुन्तला नै हो,’ अर्यालले भन्नुभयो, ‘सुन्तलासँगै कफी पनि लगाएको छु । यसैबाट सम्पूर्ण कारोबार सञ्चालन गरेको छु र मैले अंगालेको पेसाप्रति निकै सन्तुष्ट छु ।’

विगत ३३ वर्षअघिदेखि नियमितरूपमा सुन्तला बिक्री गर्दै आउनुभएका पुराना सुन्तला व्यवसायी लेखनाथ काफ्ले बाँचुञ्जेल यही व्यवसाय गर्ने अठोट व्यक्त गर्नुहुन्छ । काफ्लेको सुन्तला बगैँचामा हाल २०० बोटहरू छन् ।

उहाँ बर्सेनि सुन्तला बिक्रीबाट तीन÷चार लाख रूपैयाँ आम्दानी गर्नुहुन्छ । काफ्लेले भन्नुभयो, ‘अंशबण्डा हुँदा मेरो नाममा पाँच लाख हाराहारीमा सम्पत्ति थियो । तेत्तीस वर्षपछि सुन्तला व्यवसायले मलाई १० करोड बढीको मालिक बनायो ।”

काफ्ले शिक्षक पेसामा संलग्न भए पनि दुई छोरालाई इन्जिनियर र तीन छोरीलाई डिग्रीसम्मको अध्ययन सुन्तलाको आम्दानीबाट नै गराउन सफल भएको उहाँको भनाइ छ ।

सुन्तलाका बोट भएका ठाउँमा अरू बिरुवाहरू हुर्कन नदिने, बोटका वरिपरि कोसेबाली लगाउने, मलखादमा विशेष ध्यान दिने, सुन्तलाका बोटमा रोग लाग्न नदिन चुना, नीलोतुथो तथा गोबरको लेपन लगाउने गरेमा सुन्तलाका बोटहरू धेरै समय टिकाउन सकिने उहाँको अनुभव छ ।

एक उत्तर छोड्न