स्थानीय तहमा आक्रमण : चन्दननाथ नगरपालिकाको गाडी आगजनी , गोठीचौर गाउँपालिकामा तोडफोड

0
312

जुम्ला, (खलंगा) मंसिर २ गते । चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क १ झ १ नम्बरको गाडि राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।राती करिब १ः१० बजे नगरपालिकाका पाले बिष्णु प्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सवैलाई जानकारी गराएको बताए । उनले आफु र सानो छोरा सुतेको अवस्थामा पूर्वतिर रहेको ढोकामा अज्ञात व्यक्तिले ढक ढक हान्दा ढोका खोलेर हेर्दा गाडी जलिरहेको देखेको न्यौपानेले बताए । घटना पछि टोलमा आफु कराएर र सवै जम्मा भएर निभाउन प्रयास गर्यौ पछि प्रहरी सेना आएर आगो निभाए उनले बताए । गाडीको माथिल्लो भाग पुरै जलेको छ । यदि व्याट्री  पडकिएको भए । नजिकै राखिएको नगरपालिकाको फोहर फाल्ने गाडि समेत जल्ने थियो । पूर्वमा रहेको ग्यासको पसल आगोले समातेको भए धेरै क्षति हुने थियो । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।
यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरि कम्प्यूटर ईलेक्टोनिक सामग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिको रुपमा लाखौका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका आगजनी गर्न प्रयास गरिएको तर सफल नभएको जस्तो छ । कागजहरु केही जलाएका छन् तर निभेको छ ,उहाँले बताउनुभयो । यसैगरी गाउँपालिकामा जडान गरिएको सिसि क्यामरा चुडेर फालिएको छ । घटना स्थलको वास्तविक अवस्था वुझ्न आफु गुठचौर पुगेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । यता घटनाको विवरण सहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न