हैदराबादसँग ११८ रनले हार्‍यो कोहलीको बेङ्लोर

0
79

भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको इण्डियन प्रिमियर लिग(आईपिएल) टोली रोयल च्यालेन्जर्स बैङ्लोरले आइतबार भएको खेलमा सनराइजरस हैदराबादसँग लज्जास्पद हार बेहोरेको छ। हैदराबादसँग बैङ्लोर ११८ रनको विशाल अन्तरले पराजित भयो।

हिजोको खेलमा पहिले ब्याटिङ गरेको हैदरबादले जोनी बेयरस्टोको ११४ तथा डेविड वार्नरको नटआउट १०० रनको सहयोगमा २ विकेट गुमाउँदै २३१ रनको विशाल योगफल खडा गरेको थियो। २३२ रनको जवाफी लक्ष्य भेट्टाउन मैदानमा उत्रेको बैङलोरले १९.५ ओभरमा अलआउट हुँदै ११३ रन मात्र जोड्न सकेपछि यस्तो लज्जास्पद हार बेहोर्यो। हैदराबादका लागि मोहम्मद नबीले चार तथा संदीप शर्माले ३ विकेट लिएका थिए।

जितसँगै हैदरबादले ३ खेलबाट २ मा जित हासिल गर्दै ४ अंक सहित लिगको शीर्षस्थानमा पुगेको छ। रनको हिसाबले यो बेङ्लोरको सर्वाधिक दोश्रो ठूलो हार हो।

हैदराबादले दिएको २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको बैङ्लोरले ७.३ ओभरको समाप्तिमा केबल ३५ रन जोडेर आफ्ना ६ विकेट गुमाएको थियो। त्यसपछि टोली खेलमा पर्किन सकेन र १९.५ ओभरमा ११३ रन बनाएर अलआउट भयो।

बेङ्लोरका लागि कोलिन डि ग्रैन्डहोमले ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३७ रन जोडे। उनका अलावा आईपिएलमा डेब्यू गरेका प्रयास बर्मनल १९, दमेश यादवले १४ तथा पार्थिब पटेलले ११ रन बनाए।

त्यस्तै कप्तान कोहली ३ तथा अब्राहम डिविलियर्स १ रनमा आउट भए।

त्यसअघि ब्याटिङ गरेको हैदराबादका लागि बेयरस्टोले ११४ तथा वार्नरले नटआउट १०० रन जोडेका थिए। दुई खेलाडीले पहिलो विकेटका लागि १६.२ ओभर खेल्दै १८५ रनको कीर्तिमानी साझेदारी गरे।

आईपिएलको इतिहासमा यो पहिलो विकेटका लागि आजसम्म गरिएको सर्वाधिक ठूलो साझेदारी हो। यस अघि कोलकाता नाइट राइडर्सका लागि गौतम गम्भिर तथा क्रिस गेलले सन् २०१७ मा गुजरात लायन्सको विरूद्द पहिलो विकेटका लागि १८४ रनको साझेदारी गरेका थिए।

आईपिएलमा बेङ्लोरका लागि युजबेन्द्र चहलले बेयरस्टोलाई आउट गरेका थिए। बेयरस्टोले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए। बेयरस्टो यस सिजनमा शतक लगाउने दोश्रो खेलाची हुन भने वार्नर तेश्रो हुन्। यसअघि राजस्थान रोयल्सका संजु स्यामसनले हैदराबादविरूद्ध  नटआउट १०२ बनाएका थिए।

बेयरस्टो आउट भएपछि आएका विजय संकर ९ रन बनाएपछि पेभेलियन फर्किएका थिए।

आईपिएलमा बेङ्लोरविरूद्ध कुनै पनि टोलीले बनाएको यो दोस्रो सर्वाधिक ठूलो स्कोर हो। यसअघि २०११ मा किङ्स इलेभेन पंजाबले उसका विरूद्ध २ विकेटको नोक्शानीमा २३२ रन बनाएको थियो।

त्यस्तै वार्नरको आईपिएलमा यो चौथो शतक हो। उनले ५५ बलमा ५ चौका तथा ५ छक्का प्रहार गरेका थिए। युसुफ पठानले नटआउट ६ रन बनाए।

एक उत्तर छोड्न