६३ जिल्लामा फैलियो स्क्रब टाइफस : यो वर्षमा मात्रै ३ जनाको निधन

0
74

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।

कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।

नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ ।

स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३० र चितवनमा ५६ जनामा देखिएको महाशाखाले जनाएको छ ।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने स्क्रब टाइफस रोग मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जङ्गल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट हुने गरेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । यस रोगको उपचारको लागि सरकारले निःशुल्क रुपमा किटको व्यवस्था गर्दै आइरहेको पनि महाशाखाले जनाएको छ ।

१५ देखि २० वर्ष पहिलादेखि यो रोगको समस्या नेपालमा देखिए पनि सरकारसँग भने ७ वर्ष पहिला देखिको मात्रै रेकर्ड रहेको छ ।  

 स्क्रब कस्तो रोग हो ?

स्क्रब टाइफसको सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । यो एक प्रकारको ज्वरोजन्य रोग हो । जङ्गल, झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस राखिएको बुझिन्छ । यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि झर्छ । झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ ।

नेपालमा कुनै पनि बेला महामारीको रुप लिन सक्छ

सन् २०१८ मा २७ तथा सन् २०१६ मा यो संक्रमण ४८ जिल्लामा यो रोगको संक्रमण भेटिएको थियो । साढे तीन वर्षयता यो संक्रमणले ३४ जनाको मृत्यु भएको तथ्याङ्क छ । तर सरकारको तथ्याङ्कभन्दा धेरै नागरिकमा यो रोगको समस्या देखिएको स्वास्थ्य विज्ञहरुकै अनुमान छ ।

यो रोगले फेरि कुनै पनि समयमा महामारीको रुप लिन सक्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आइरहेका छन् । आजभन्दा ३ वर्ष (०७३) मा ३२ जिल्लामा देखिएको यो रोग अहिले ६३ जिल्लामा देखिएको छ । यो कुराले पनि स्क्रब टाइफस बढ्दो अवस्थामा रहेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा लामो समयदेखि स्क्रब टाइफसको समस्या देखिए पनि भूकम्पपछि धादिङमा बढी मात्रामा मुसा देखिन थालेसँगै नागरिकले यो रोगको बारेमा चासो राखेको देखिन्छ । चिकित्सकको भनाइअनुसार समयमा उपचार भए यो रोग निको हुने रोग हो । तर ढिला भएको खण्डमा बिरामीको ज्यानसमेत जान सक्छ ।

यसरी लाग्छ स्क्रब टाइफस

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेषगरी मुसा र बिरालोको शरीरमा टाँसिएर रहने परजिवी किर्ना, उपियाँ, उडुस र जुम्राबाट मानिसमा यो रोग सर्छ । घरपालुवा जनावर भएको घरका मानिसलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने स्क्रब टाइफसको लक्षणहरु हुन् । यो रोगको समयमा उपचार भएन ज्वरो बढ्दै गएर अन्य समस्याहरु पनि देखा पर्न सक्छन् । जस्तै मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या हुने बिरामीको ज्यान जान सक्ने डा.रवीन्द्र पाण्डे बताउँछन् ।

उनका अनुसार समयमै रोगको निदान गरेमा यसको उपचार सस्तो छ । २—३ सय रुपैयाँको औषधि खाँदा नै यो रोग निको हुन्छ । डेङ्गुुसँग यसका लक्षण धेरै मिल्ने भएकोले डेङ्गु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुने डा.पाण्डे बताउँछन् ।  जनस्वास्थ्य प्रयोगशाला टेकुमा ५ सय रुपैयाँमा यसको परिक्षण गरिन्छ  ।

व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्ने तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गर्ने, घर बाहिर काम गर्दा बुट तथा पञ्जा लगाउने आदिबाट यो रोग रोकथाम गर्न सकिने डा. पाण्डेको सुझाव छ ।

एक उत्तर छोड्न